काठमाडौं । वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर घटेको छ । फागुनसम्म कर्जाको भारित औसत ब्याजदर ८.७३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको यसै अवधिमा कर्जाको औसत ब्याजदर ११.८० प्रतिशत थियो ।

आधारदर घटेपछि यसको असर कर्जाको ब्याजदरमा परेको हो । आधार दर २०७६ फागुनमा ९.४५ प्रतिशत रहेकोमा २०७७ फागुनमा ६.८४ प्रतिशत कायम भएको छ । २०७७ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७६ प्रतिशतमा झरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा निक्षेपको ब्याजदर ६.७७ प्रतिशत थियो । २०७६ फागुनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.९७ प्रतिशत रहेकोमा २०७७ फागुनमा घटेर २.०३ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ फागुनमा ४.३५ प्रतिशत रहेकोमा २०७७ फागुनमा १.२६ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ फागुनमा १.२६ प्रतिशत छ ।