पूर्वमा नै पहिलो पटक एकीकृत नमुना सहकारी बस्ती निर्माण सुरु !

झापाको दमकमा रहेको मेची सहकारी संस्थाले पूर्वमा नै पहिलो पटक एकीकृत नमुना सहकारी बस्ती निर्माण सुरु गरेको छ। बाहिर कतै घर नभएका र किस्तामा घर लिन सक्ने सदस्यका लागि लक्षित गरेर न्यूनतम जग्गासहित ४३ लाख देखि अधिकतम ५१ लाख रुपियाँसम्मका घर निर्माण हुने जनाइएको छ।

मङ्गलबार सहकारी संस्थाले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार दमक ४ मा एक बिगाहा १६ कट्ठा जमिनमा ५२ वटा घर निर्माणको काम सुरु भएको र यसमा प्रत्यक्ष सदस्यहरूको निगरानीमा काम हुने सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताउनुभयो।

सहकारीले सुरुवातमा सदस्यबाट लागत मूल्यको १५ प्रतिशत रकम लिने र त्यसबाहेक एकमुष्ट रकम झिक्न नसक्ने सदस्यलाई २० वर्षे किस्ताबन्दीमा घर उपलब्ध गराइने छ। सहकारीका सदस्यहरूले सोही जमिनको धितोको आधारमा सहुलियत ऋण पाउने र २० वर्षको भुक्तानी अवधि उपलब्ध गराइने भएकाले घर भाडामा बस्दै आएका सदस्यका लागि यो लाभदायी बन्न सक्ने सहकरीका व्यवस्थापक खोमप्रसाद बगालेले बताउनुभयो।

व्यावसायिक प्रयोजनका लागि यहाँ कसैलाई पनि घर उपलब्ध नगराइने पनि उहाँले बताउनुभयो। पाँच वर्ष किनबेच गर्न नपाइने र त्यसपछि किनबेच गर्दा पनि सहकारीका सदस्यलाई नै बिक्री गर्नुपर्ने बगालेले भन्नुभयो। सहकारी संस्था तथा त्यहाँ रहेको व्यवस्थापन समिति र घर लिने सहकारीका सदस्यले मूल्य निर्धारण गरेर मात्र बिक्री गर्न पाउने व्यवस्थासहितको कार्यविधि बनाएर अघि बढिएको पनि बगालेको भनाइ छ।

सहकारी बस्ती निर्माण समितिका संयोजक डिल्लीप्रसाद न्यौपानेका अनुसार सहकारी संस्थाले चार वर्षअघि जमिन किनेको र एकैसाथ धेरै घर बनाइने भएकाले सहकारीका सदस्यहरूले कम लागतमा बस्तीमा घर पाउने अवस्था सिर्जना भएको जनाउनु भयो। आधुनिक र सुविधा सम्पन्न घर सदस्यहरूले कम मूल्यमा पाउने अवस्था सिर्जना भएको छ, उहाँले भन्नुभयो।

२०७२ साल भदौ १२ गते सदस्यहरूलाई घरको चाबी हस्तान्तरण गर्ने गरी काम हुने पनि बताइएको छ। आठ हजार सेयर सदस्य रहेको यस सहकारी संस्थाको सेयर पुँजी करिब २९ करोड रुपियाँ रहेको छ। दमकमा मुख्य कार्यालय रहेको संस्थाले हाल कमल गाउँपालिकाको मङ्गलबारे, मोरङको उर्लाबारी, पथरी र मधुमल्ला तथा इलामको चुलाचुली सेवा केन्द्रबाट सेवा दिँदै आएको छ।