५ सय बढी संक्रमित भएको ठाउँमा निषेधाज्ञा गर्न सीसीएमसीको सिफारिस

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा स्थगित गर्न र ५ सय बढी संक्रमित भएको ठाउँमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण बढेकाले नियन्त्रणका लागि सबै तहका परीक्षा स्थगित गर्न र पाँच सयभन्दा बढी संक्रमित रहेको ठाउँमा निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।बैठकमा सहभागी धेरैले लकडाउन गर्न नहुने मत राखेका थिए ।

तर कतिपयले भने लकडाउन नगरे पनि सक्रिय संक्रमित संख्याका आधारमा प्रतिबन्धात्मक व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।त्यसपछि सीसीएमसीले पहाडी जिल्लामा २०० र शहरमा ५०० सक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्ने गरी संख्या तोकेको स्रोतको भनाइ छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।

त्यस्तै सीसीएमसीले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सीमा नाकाहरुमा कडाइ गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।सीमानाकामा नेपालीहरुको आवागमन रोक्ने निर्णय भने नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।

सीसीएमसीको प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सीमानाकाबाट भारतीयहरु नेपाल पस्न पाउने छैनन् । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ ।अहिले विश्वमा कोरोना सङ्क्रमण वृद्धिदर १० प्रतिशतमात्रै रहेको छ ।

नेपालको छिमेकी देश भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको भन्दै मन्त्रालयले यो दर विश्वमै उच्च रहेको बताएको हो ।

यस्तै नेपालमा परीक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको र यसको अर्थ हाम्रो समुदायमा सङ्क्रमण व्यापक भइसकेको बुझ्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक डाक्टर विराजमान कर्माचार्यले जानकारी दिनुभयो ।