सबै तहका सबै परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौं- काेराेना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहकाे परीक्षा स्थगन गर्ने निर्णय गरेकाे छ। आइतबार बसेकाे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगन गर्ने निर्णय गरेको हाे।

भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गरिएको बैठक स्रोतले जानकारी दिएको छ। त्यस्तै कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सीमा नाकाहरुमा कडाइ गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।सीमानाकामा नेपालीहरुको आवागमन रोक्ने निर्णय भने नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।सीसीएमसीको प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सीमानाकाबाट भारतीयहरु नेपाल पस्न पाउने छैनन् ।

त्यस्तै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा स्थगित गर्न र ५ सय बढी संक्रमित भएको ठाउँमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।आइतबार बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण बढेकाले नियन्त्रणका लागि सबै तहका परीक्षा स्थगित गर्न र पाँच सयभन्दा बढी संक्रमित रहेको ठाउँमा निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी धेरैले लकडाउन गर्न नहुने मत राखेका थिए ।तर कतिपयले भने लकडाउन नगरे पनि सक्रिय संक्रमित संख्याका आधारमा प्रतिबन्धात्मक व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।त्यसपछि सीसीएमसीले पहाडी जिल्लामा २०० र शहरमा ५०० सक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्ने गरी संख्या तोकेको स्रोतको भनाइ छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।