काठमाडौं, ललितपुर भक्तपुरसहित यी ९ जिल्लामा ५०० भन्दाबढी सक्रिय संक्रमित !

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमण बढिरहेका बेला फेरि निषेधाज्ञा वा लकडाउन हुनसक्ने जनचासो बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकमा लकडाउन गर्ने नि नगर्ने भन्ने सम्बन्धमा छलफल चलेको छ ।

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाको हट स्पटहरुमा लकडाउन गर्नुपर्ने धारणा राख्नु भएपनि सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले देशव्यापी लकडाउन गर्न नहुने तर्क राख्नुभएको बैठकमा सहभागी एक उच्च अधिकारीले जानकारी दिनुभयो ।

‘स्वास्थ्य मन्त्री ज्यूले संक्रमण नियन्त्रणका लागि लकडाउन गर्नपर्ने मत राख्नुभएको थियो तर उपप्रधानमन्त्री ज्यू लगायतले लकडाउन मात्रै नियन्त्रणको उपाय होइन भनी धारणा राख्नुभयो,उच्च अधिकारीले भन्नुभयो, ‘बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । ’

बैठकले पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरेको ति अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ३१ सय २२ जनालाई संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा २८ संक्रमितको मृ’त्यु भएको छ । आज संक्रमणपुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा १४ सय ९८ जना छन् । मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर भक्तपुरसहित मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।