घर जान चाहनेहरुका लागि दुई दिनको समय दिएर कडा बन्द गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाबाट घर जान चाहनेहरुका लागि दुई दिनको समय दिएर कडा बन्द गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएको जानकारीअनुसार बेलुकासम्म कहिलेबाट कसरी बन्द गर्ने भन्ने विषयमा सूचना सार्वजनिक गरिनेछ ।

उनका अनुसार काठमाडौं उपत्यकाको चेन ब्रेक गर्नका लागि डेढहप्ता कडा बन्द गर्नूपर्ने अवस्था छ ।“हामीले अनुगमन पनि तीव्र बनाउँछौँ,” उनले भने, “एक, दुई दिन घर जाने समय दिन्छौँ । समय दिएर मात्रै कडा बन्द गर्नुपर्ने सुझाव आएको छ । त्यसैले हामीले घर जान चाहनेहरुका लागि समय दिएर बन्द गर्न लागेको हौँ ।”

घर फर्किन समय दिऔँ भनेर यस्तो निर्णय गरिएको उनले जानकारी दिए । राजधानी उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि एक सातासम्म निषेधाज्ञा लगाउने प्रस्ताव गरिएको छ । गृहमन्त्रालयमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको निर्णय गरेपनि यसको कार्यान्वयन मन्त्रिपरिषद् बैठकपछि हुने बताइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले वैशाख २२ गतेसम्म निषेधाज्ञा लगाउने प्रस्ताव भए पनि मन्त्रिपरिषदको बैठकमा के निर्णय आउछ भन्ने पर्खिएको बताए । मन्त्रिपरिषद बैठक साँझ ५ बजे बस्दैछ ।निषेधाज्ञा लगाइएपछि सार्वजनिक तथा निजी गाडीहरु बन्द हुनेछन् भने बजार, कलकारखानालगायत आमरूपमा सबै जनजीवन ठप्प हुनेछ ।