फ्लोर क्रसको डरले अविश्वास दर्ता गराएका सबै सांसदलाई एउटै होटलमा राखियो

पोखरा : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका दल कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले आफ्नै सांसदमाथि अविश्वास गरी एउटै होटलमा राखेका छन् । पोखरा लेकसाइडको कुटी रिसोर्टमा सोमबार २५ सांसद बास बसेका हुन् ।

‘सरसल्लाह गर्न सजिलो हुन्छ भनेर सबै एकै ठाउँमा बसेका हौं,’ कांग्रेसका एक सांसदले भने । उनकै भनाइमा फ्लोर क्रस गर्लान् भन्ने डरले सांसदलाई एकै ठाउँ राखिएको हो । भारतमा सरकार फेरबदल हुने बेला सांसदलाई अर्कातिर जान नदिन होटलमा लगेर सांसद थुनिएका समाचार सुनिएका थिए, तर गण्डकीमा विपक्षी दलहरुले त्यस्तै प्रवृत्ति देखाएका छन् ।

कांग्रेस, माओवादी एउटै कुटी रिसोर्ट र जसपाका नजिकैको अर्का होटलमा बसेको स्रोतले उल्लेख गरेको छ । तर, अविश्वास प्रस्तावमा साथ दिने बताएको जनमोर्चाका ३ सांसद भने त्यो मोर्चाबन्दीमा लागेर होटल गएनन् । यद्यपि राजमोले अविश्वास प्रस्तावमै मतदान गर्ने उक्त पार्टीको केन्द्र कमिटीले बताएको छ ।

२ वैशाखमा दर्ता भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेश सभामा सोमबार टेबुल भएको छ । प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल गरेका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका ३ दलले वैशाख २ मा गुरुङ सरकारविरुद्ध प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका थिए । विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीसँगै मुख्यमन्त्री गुरुङले अधिवेशन अन्त्य गरेका थिए । लगत्तै अरु दलहरुले प्रदेश सभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन दिएका थिए ।

सोही माग अनुसार शेरचनले १३ वैशाखमा अधिवेशन आह्वान गरेका हुन् । वैशाख २ गते संसद सचिवालयमा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन् ।

१२ सांसद रहेको माओवादीबाट १ जनचाहिँ सभामुख छन् । राष्ट्रिय जनमोर्चाका गण्डकीका सांसद गुरुङ सरकारको पक्षमा भएपनि पार्टी केन्द्रीय कमिटीले भने अविश्वासको प्रस्तावमा मतदान गर्न निर्देशन दिइसकेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् ।

२७ मध्ये १ जना माधव नेपाल समूहका छन् । उनले कर्णालीमा जसरी नै फ्लोर क्रस गर्लान्/नगर्लान् भन्ने यकिन छैन । एमालेकै समर्थनमा सांसद भएका मनाङका राजीव गुरुङ उर्फ दीपक मनाङेले सोमबार आफूलाई स्वतन्त्रकै हैसियत प्रदान गर्न प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन् । अन्नपूर्ण