अमेरिकामा खोप लगाइसकेकाले खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने

एजेन्सी । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ ।

बीबीसीका अनुसार खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्न नपर्ने उसले नयाँ मापदण्डमा उल्लेख गरेको छ । तर कोठाभित्र वा भिडभाडयुक्त स्थलहरूमा अझै पनि मास्क लगाउनुपर्ने सीडिसीले बताएको छ ।

हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।सीडिसीको नयाँ मापदण्डप्रति राष्ट्रपति जो बाइडनले खुसी व्यक्त गरेका छन् । नले कोरोनाभाइरस खोपका पूर्ण मात्रा लगाइसकेका मानिसहरूलाई अब बाहिर मास्क लगाउन नपर्ने बताएका छन् ।

महामारीविरुद्ध लडाइँमा अमेरिकाले चमत्कारी प्रगति हासिल गरेको भन्दै उनले ज्यानुअरीमा कार्यभार सम्हालेयता सङ्क्रमण तथा मृत्यु नाटकीय ढङ्गले घटिरहेको बताए । उनले भने, ‘आजदेखि साथीभाइसँग पार्कमा भेट्दा वा पिकनिकमा जाँदा यदि तपाईँले खोप लगाइसकेको हो भने र यदि बाहिर खुला हावामा हुने हो भने मास्क लगाउनु पर्दैन ।’राष्ट्रपति बाइडनले खोप नलगाएका अमेरिकीहरूलाई खोप लिएर देशभक्तिपूर्ण कार्य गर्न पनि आह्वान गरे ।