सीमा नाका बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सीसीएमसी) को शक्रबारको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड-१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिस गरेको जनाइएको छ।

उक्त सिफारिशबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ। बैठकमा कोरोना रोकथामका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र अत्यावश्यक वस्तु र सेवाको सञ्चालनका विषयमा पनि समीक्षा गरिएको थियो। त्यस्तै सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ ।

गृह मन्त्रालयका अनुसार शुक्रबारसम्मको प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको छ ।त्यसमध्ये आजसम्म १९ जिल्लामा आदेश कार्यान्वयनमा आएको छ । केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ ।

आदेश जारी भएका जिल्लामध्ये एक जिल्लामा यही वैशाख १८ र अन्य तीन जिल्लामा १९ गतेदेखि कार्यान्वयन गरिने जनाइएको छ ।सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा आदेश कार्यान्वयनमा छ । कालीकोट, बागलुङ, बर्दिया र दार्चुलामा आंशिक आदेश जारी भएको छ ।

यता जाजरकोटमा यही वैशाख १८ गते रातिदेखि तथा सल्यान र डडेलधुरामा १९ गते बिहान ६ बजेदेखि र झापामा १९ गते राति १२ बजेदेखि आदेश कार्यान्वयन हुने गृह मन्त्रालयले जनाएको छ ।आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिएको छ । गृह प्रवक्ता जनकराज दाहालले आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग अनुरोध गर्नुभएको छ ।