लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेशसभामा आज दिउँसो सरकारबिरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची रहेको समयमा मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।अहिले लुम्बिनी प्रदेशमा ६ जना प्रदेश सभा सदस्य पदमुक्त भएपछि ८१ सदस्यमात्र छन् । एमालेका ४१ सांसद भएकाले अब एमालेको एकल बहुमत हुनेछ ।

बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि उनले जसपाका चार सांसदलाई मन्त्री नियुक्ति दिएर पद बचाउने प्रयास गरेका थिए । जसपाले आफ्ना चारै सांसदलाई पदबाट बर्खास्त गरिसकेकाे छ ।

थप समाचार -प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। यसअघि हरेक सोमबार नियमित बैठक बस्ने गरेको भएपनि यसपटक आइतबारै बैठक बोलाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने गरी बैठक बोलाइएको भूमि व्यवस्था तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाङफेले जानकारी दिइन् । उनका अनुसार बैठकको मुख्य एजेण्डा कोरोना महामारी रहेका छ। आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित रहेर छलफल र निर्णय हुन सक्ने उनले बताइन्।

आजको बैठकमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबारको बैठकले गरेको सिफरिसको विषयमा छलफल गरी आवश्यक निर्णय हुने उनले बताइन्। कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ ।

बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका विषयमा सीसीएमसीको प्रस्तावलगायत विषयमा छलफल हुने छ ।शुक्रबार बसेको सीसीएमसी बैठकले कोभिड–१९ नियन्त्रणका लागि वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेको थियो ।