मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, जसपा नयाँ मन्त्रीहरुलाई तनाब !

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ ।प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीले दिएको राजीनामा स्वीकृत गरेका हुन् । उनको राजीनामा संविधानको धारा १७९ (१) (क) बमोजिम राजीनामा स्वीकृत भएको हो ।

प्रदेश प्रमुख यादवले संविधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न आग्रह गरेका छन् ।

उता जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य एवम् पार्टी सदस्यबाट कारवाहीमा परेका चारजना मन्त्रीहरुले आइतबार सर्वोच्चमा पार्टीको निर्णयविरुद्ध रिट दायर गर्ने तयारी गरेका थिए ।

जसपा नेपालको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका प्रदेशसभा पूर्व सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले संयुक्त रुपमा रिट दर्ता गराउन सर्वोच्च अदालत जान लागेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहानै अकस्मात राजीनामा दिए ।

पार्टीको निर्णयविपरीत जसपाका चारैजना सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन जनाएका थिए । समर्थन जनाउँदै उनीहरु मन्त्रिमण्डलमा समेत सहभागी बनेका थिए । पार्टीले कारवाही गरेपछि उनीहरुको सांसद पद जानुका साथै अब मन्त्री पद पनि गुमेको छ ।

उनीहरुलाई पुनः सपथ गराउने कुरा चलिरहेका बेला मुख्यमन्त्री पोखरेलले नै राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै जसपाको पार्टी कार्यालय बबरमहलमा उनीहरु पार्टीका शीर्ष नेताहरुसँग परामर्शमा जुटेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अब रिटमा जाने कि जाने विषयमा उनीहरुले छलफल गर्न थालेका हुन् ।

उनीहरुले सर्वोच्च अदालतमा दायर गर्ने रिट शुक्रवार नै तयार गरेका थिए । तर, समय अभावका कारण दर्ता हुन सकेको थिएन । आइतबार ११ बजे रिट दर्ता गराउने कारवाहीमा परेका जसपा नेता विजय यादवले बताए । ‘हामीले अहिले छलफल गर्दैछौँ,’ उनले भने, ‘कोरोनाका कारण सर्वोच्च अदालतमा के कसरी काम भइरहेको छ, यो बुझेर हामी जान्छौँ, त्यसअघि पार्टीमा छलफल गर्दैछौं ।’