स्थायी कमिटी बैठक सकेर राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

काठमाडौं : प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। आइतबार दिउँसो राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्।

एमाले स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली शीतल निवास पुगेको स्रोतको दाबी छ। प्रधानमन्त्री र राष्ट्रबीच लुम्बिनी प्रदेशमा देखिएको राजनीतिक घटनाक्रमको विषयमा छलफल केन्द्रित भएको बताइएको छ। ‘प्रधानमन्त्री शीतल निवासमा हुनुहुन्छ’, स्रोतले भन्यो, ‘पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको अनुमान गर्न सकिन्छ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रधानमन्त्री ओली सक्रिय भएका हुन्। मुख्यमन्त्री पोखरेलले राजीनामा दिए लगत्तै लुम्बिनी प्रदेश सांसद बिमला खत्री माओवादीमा प्रवेश गरेकी छन्। खत्री माओवादीमा प्रवेश गरेसँगै पोखरेलको बहुमत छिनभरमै गुमेको छ।

दाङबाट प्रदेशसभा ३ (ख) बाट खत्रीले नेकपाका तर्फबाट लुम्बिनी प्रदेशसभा निर्वाचित भएकी थिइन्। एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको दाबी गरेको थियो। अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन्। संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ। प्रदेश सभामा नेपाली का‍ंग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन्।