‘म बहुमतको मुख्यमन्त्री हुँ’: शंकर पोखरेल

काठमाडौं ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जवाफ फर्काएका छन् ।

आइतबार मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर पुनस् मुख्यमन्त्रीको नियुक्ति र सपथ लिइसकेका छन् । उनी बहुमतविनै पुनः मुख्यमन्त्री भएको भन्दै देउवा, प्रचण्ड र उपेन्द्रले विज्ञप्ति नै निकालेर विरोध गरेका थिए ।यसबारे सोमबार बिहान मुख्यमन्त्री पोखरेलले फेसवुकबाट जवाफ दिएका छन् ।

सूर्य चिन्हबाट चुनाव जितेका सांसदहरू कानुनी रूपमा पनि एमालेबाहेक अन्य दललाई हुन नसक्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।‘सूर्य चिन्हबाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनीरुपमा समेत अन्यदललाई हुन सक्तैन । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो,’ मुख्यमन्त्री पोखरेलले भनेका छन् ।

सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसदले मुख्यमन्त्री पोखरेललाई समर्थन नरहेको बताएका थिए भने नेकपा एमालेकै एक सांसदले राजीनामा दिएका थिए । यस्तै नेकपाबाट चुनाव जितेकी सांसद विमलाकुमारी खत्रीले माओवादी केन्द्रमा सक्रिय हुने निर्णय गरेकी थिइन् ।

यस्तो अवस्थामा नेकपा एमालेको एकल बहुमत नपुग्ने दाबी प्रतिपक्षी दलहरूको छ । लुम्बिनीमा बहुमत पुग्न ४१ सांसद चाहिन्छ । तर आफू बहुमत रहेकै अवस्थामा मुख्यमन्त्री भएको पोखरेल दाबी गर्छन् ।‘लुम्बिनीमा नेकपा (एमाले) प्रदेश सभा दल बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दावी गरिएको हो ।

दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भएको हो । नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ,’ उनले भनेका छन् ।आइतबार मुख्यमन्त्री पोखरेललेविरूद्ध प्रदेश सभामा अविश्वास प्रस्तावमाथि छलफल हुँदै थियो । उनले प्रदेश सभाको विशेष अधिवेशन पनि सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट अन्त्य गरिदिएका थिए ।