स्वास्थ्यकर्मी संक्रमित भए प्रदेश सरकारले उपचार खर्च व्यहोर्ने

जनकपुरधाम : प्रदेश २ सरकारले कोभिड कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भए उनीहरुको उपचार खर्च व्यहोर्ने भएको छ। प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले भविष्यमा बढ्न सक्ने कोरोना संक्रमितको चापलाई ध्यानमा राख्दै प्रदेशभित्रका अन्य निजी अस्पतालहरुलाई नेपाल सरकारको मापदण्ड बमोजिम सम्झौता गरी सञ्चालनमा ल्याउन समाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ।

त्यसै, गरी प्रदेशभित्र सञ्चालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालहरुको प्रयोगशालामा पिसिआर परीक्षण गर्न लगाउने निर्णय समेत गरेको छ। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको पिसिसिएमसीको बैठकमा मन्त्रीहरु, प्रमुख सचिव, प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुख एवं स्वास्थ्य क्षेत्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।