यी ४१ जिल्लामा निषेधाज्ञा !

काठमाडौं उपत्यका सहित ४१ जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार आजसम्म ३० वटा जिल्लामा पूर्ण र ११ वटा जिल्लामा आशिंक निषेधाज्ञा लागू भएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा वैशाख १६ देखि निषेधाज्ञा लागू भइरहेको छ ।

सो निषेधाज्ञा वैशाख मसान्तसम्म जारी रहनेछ ।त्यसैगरी बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन र रूपन्देहीमा निषेधाज्ञा जारी छ । कास्कीमा सवारीमा जोरबिजोर प्रणाली लागू गरिएको छ । बझाङ र बैतडीमा आज बिहानै देखि निषेधाज्ञा लागू भएको छ ।

बर्दियामा आजदेखि वैशाख ३१ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा लागू भएको छ । यसअघि बर्दियाका केही क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको थियो । झापा र उदयपुरमा आइतबार राति देखि निषेधाज्ञा जारी भएको छ । दुबै जिल्लामा वैशाख २६ गतेसम्म निषेधाज्ञा लागू हुनेछ ।

झापामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जोर बिजोर प्रणालीमा सवारी साधन चलाउन पाइनेछ ।अर्घाखाँचीमा आज रातिदेखि वैशाख ३१ सम्म निषेधाज्ञा लागू हुँदैछ । सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, गुल्मी, प्यूठान र दैलेखमा पूर्ण रूपमा निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कपिलवस्तु, नुवाकोट र धनुषामा भोलि बिहानदेखि निषेधाज्ञा लागू हुने छ । दैलेखमा भोलि रातिदेखि निषेधाज्ञा लागू हुने छ ।बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा कोभिड प्रभावित ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

नेपालमा कोभिड संक्रमण तीब्र गतिमा फैलिएको छ । संक्रमितको संख्यामा दिनहुँ नयाँ रेकर्ड बन्न थालेको छ । संक्रमणदर र मृत्युदर पनि बढ्दै गएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न सरकारले पटक पटक आग्रह गर्दै आइरहेको छ । निषेधाज्ञा लागू भएका जिल्लामा सरकारले थप कडाइ गरेको छ ।