पूर्वरानी कोमलको अबस्था बारे नर्भिक अस्पतालले भर्खरै दियो यस्तो अपडेट

काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उनको हाल आईसीयूमै राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।

भारतको उत्तरखण्डस्थित हरिद्धवरमा १२ वर्षपछि लागेको कुम्भ मेलामा शाहीस्नान गरेर फर्किने क्रममा पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमललाई कोरोना संक्रमण भएको थियो। उनीहरुको अवस्था बिग्रिएपछि गत सातादेखि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराउदै आइरहेका थिए।

‘पूर्वराजा, पूर्वरानी तथा पूर्वअधिराजकुमारीको स्वास्थ्य अवस्था निकै राम्रो भइरहेको छ। ‘उहाँहरु घर फर्किने दिन कुरेर बसेका छौं। छिट्टै अस्पतालबाट ‘डिस्चार्ज’ हुने सम्भावना छ।’ दरबार स्रोतले बतायो। नर्भिक अस्पताल भर्ना हुँदा पूर्वरानी कोमलको अवस्था चिन्ताजनक थियो। उनलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिएको थियो।