‘भो, अब यो सहरमा कहिल्यै फर्किन्‍नँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मात्र देशबासीका नाममा सम्बोधन गर्दै भने- ‘संक्रमणको साङ्लो तोड्न जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ।’

ओलीको कुरालाई मान्ने हो भने अहिलेको निषेधाज्ञामा कोही पनि गरिब, मजदुर भोकभोकै बस्न बाध्य हुनुपर्दैन। तर, विडम्बना ती मजदुर अहिले भोकभोकै सडक पेटीमा छट्पटाउँदै छन्। निषेधाज्ञाले पेट भर्ने मेलोमेसो खोसिएको छ। तर,यसमा राज्यको ध्यान पुगेको छैन।

निषेधाज्ञा जारी भएको ६ दिन अर्थात् मंगलबार बिहान ८ बजे थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल अगाडिको खाली जग्गामा पुग्दा कोही मजदुर र सडक पेटीमा बस्ने व्यक्ति खाना पर्खिरहेका थिए, त कोही ट्यांकीमा रहेको पानी भरेर भोक अनि प्यास मेटाइरहेका थिए।

जग्गाको बीचमा सानो ढुंगामाथि कालो पाइन्ट, ढाकाटोपी र पछाडि कालो झोला बोकेका एक वृद्ध निधारमा हात राख्दै टोलाइरहेका देखिए। उनी थिए, सिन्धुली, दुम्जाका कृष्ण थापा। उनी घर बनाउने मजदुर हुन्। जसोतसो परिवार चलाउँदै थिए।तर,निषेधाज्ञा पछि उनको काम खोसियो।

उनी यसरी सडकमा संघसंस्थाले निःशुल्क बाँड्दै आएको खान बाध्य भए। ‘अहिले सबै बन्द भयो, पैसा भएन, यहाँ खाना खान आएको छु,’ भोकले बोल्नै नसक्ने भइसकेका उनले जसोतसो पीडा सुनाए। कृष्णको उमेर ६० कटिसक्यो, तर परिवारको जिम्मेवारी उस्तै छ। ढल्किसकेको उमेरको पनि उनलाई ‘मतलब’ छैन।

ललितपुरको सानो गाउँमा डेरा लिएर बस्दै आएका छन्। डेरामा उनकी श्रीमती पनि छिन्।सोमबारसम्म उनीसँग एक हजार रुपैयाँ थियो। त्यो पनि श्रीमतीका लागि केही खानेकुरा किनेर सके। भने, ‘मैले पनि खाएँ भने धेरै दिन पुग्दैन, त्यसैले म एक घण्टा हिँडेर यहाँ खाना खान आउँछु।’

घामपानी नभनी पसिना बगाएको कमाइ (१५ हजार रुपैयाँ) लिन बाँकी थियो। तर उनको पैसा नदिई उनका साहु बेपत्ता भए। ‘अघिल्लो लकडाउनमा पनि काम नपाएर पाँच महिना खुलामञ्चमा भात खाएँ, यसपालि पनि सडकमा आउनुपर्‍याे, लकडाउन खुलेपछि यसरी भोकै बस्नुभन्दा गाउँ जान्छु, कहिलै फर्किन्‍नँ,’भक्कानिँदै उनले पीडा सुनाए।

अघिल्लो लकडाउनमा १० किलो चामल राहत पाए पनि अहिले भने आफूले केही नपाएको बताउँछन्। ‘भूकम्पले भत्काएको घर अझै बनाउन सकेको छैन, त्यै पनि त्रिपाल हालेर त्यहीँ बस्छु,’ उनले थपे। त्यही ठाउँमा दोलखाका परशुराम खवास पनि खाना पर्खिरहेका थिए। उनी पनि कृष्णजस्तै मजदुरी गर्छन्। तर, निषेधाज्ञाले काम बन्द भयो।

‘हिजो बेलुकादेखि केही खाएको छैन, कति खेर खाना ल्याउँछन् र टन्न खाउँजस्ताे लागिरहेको छ,’ उनले अभाव र पीडा यही शब्दमा सुनाए। भोकभोकै बस्न बाध्य हुँदा पनि सरकारले केही राहत नदिएको भन्दै उनले गुनासो गरे। ‘कोरोनाभन्दा पनि भोकले मर्ने भइयो,’ भने, ‘अघिल्लो लकडाउनमा पनि यस्तै समस्या भोगियो, अब लकडाउन खुलेपछि गाउँमै गएर काम गर्ने योजना बनाएको छु, यो सहरमा कहिलै फर्किन्‍नँ।’