देशभर वर्षा, भोलिसम्म मौसम नखुल्ने, काठमाण्डौमा पनि वर्षा हुने !

काठमाण्डौ – अहिले प्रदेश १, वाग्मती र सुदूरपच्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।राति पनि काठमाण्डौसहित देशभर पानी परेको थियो ।

काठमाण्डौ र आसपासका क्षेत्रमा अहिले पानी पर्न रोकिएको तर केहीबेरमै फेरि पानी पर्ने प्रणाली सक्रिय भइरहेको महाशाखाकी मौसमविद् मञ्जू बासीले जानकारी दीइन ।भोलिसम्म नै मौसम बद्ली भएर पानी पर्ने र मौसम खुल्ने सम्भावना नरहेको मौसमविद् बासीको भनाइ छ । आज दिउँसोपछि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चे’तावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अ’पनाउन हुन अनुरोध छ।’

अहिले प्रिमनसुन हो। यस अवधिमा भारी वर्षा खासै हुँदैन। तर यसपटक भारी वर्षाको समेत सम्भावना देखिएको मौसमविद् बासीले बताइन्। ‘भारी वर्षा मनसुन (योपछि आउने सिजन) मा हुनुपर्ने हो,’ उनले भनिन्, ‘तर यसपालि प्रिमनसुनमै भारी वर्षाको सम्भावना देखियो।’ उनका अनुसार प्रिमनसुन अन्त्य भएर मनसुन (वर्षा याम) आउन अझै एक महिनाजति नै बाँकी छ।