खुलेआम आवतजावत, सशस्त्र प्रहरी मुकदर्शक

नेपालगञ्ज । बाँकेस्थित नेपाल–भारत सीमा नाका जमुनाहा भन्सार नाका थप्प छ । भारतमा अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाइएको छ ।

लामो समयदेखि बन्द रहेको रुपैडिहा बजार नाका र नेपालगन्ज जमुनाहा भन्सार नाका बन्द भएपछि तस्कर र दलालहरुले अर्को विकल्प खोजेका छन् ।जमुनाहा भन्सारदेखि एक सय मिटर उत्तर पूर्व दशगजा नाका खुल्ला छ ।हरेक सय–सय मिटरमा सशस्त्र प्रहरी छन्, तर पनि भारतको रुपैडिहा बजार र नेपालगन्ज जमुनाहा दशगजा नाकाबाट भने आवतजावत गर्न सहजै सकिन्छ ।

दैनिक हजारौंको संख्यामा नेपाल भित्रिने र बाहिरिने गरिन्छ ।मुख्य नाकाबाट विकल्प नभएपछि तस्कर र दलालहरुले यस विकल्पलाई रोजेका हुन् । सोही उपायको फाइदा सशस्त्र प्रहरीलाई पनि भएको छ । सीमामा खटिएका प्रहरीले खुल्ला नाकाबाट हजारौंको संख्यामा दैनिक नेपाल भित्रिनेहरुबाट केही रकम लिएर छाड्ने गरेका छन् ।

केही पैसा हातमा थमाइयो भने मज्जाले नेपाल आउन र भारत जान सकिने उनीहरुको भनाइ छ । थेग्नै नसकिने तरिकाले नेपाल आवतजावत गर्न थालेपछि सशस्त्र प्रहरीलाई हम्मेहम्मे हुन्छ । दुई जना सशस्त्र प्रहरी ड्यूटीमा हुन्छन्, १५/२० जनासँगै आउने हुललाई दुई जनाले सोधपुछ गर्दै नेपाल प्रवेश गराउँछन् ।

जमुनाहा नाकाको पूर्व उत्तरतिर लकडाउनसँगै तस्करी झन–झन बढेको देखिन्छ । सीमा क्षेत्रमा विशेष गरी सशस्त्र प्रहरीको निगरानी रहेको हुन्छ तर, उनीहरु कै मिलेमतोमा लाखौंको सामग्रीको तस्करी हुन्छ ।कोरोना माहामरीसँगै लकडाउनको अवस्थामा विभिन्न खालका कपडा, सूर्र्तिजन्य पद्धार्थ, खाद्यान्न सामग्रीहरु भारतबाट तस्करी हुने क्रम झन बढेको देखिन्छ ।

मुख्य नाकाबाट मोटरसाइकल आवतजावतमा पनि रोक लगाइएको छ तर, सहायक बाटो हुदै गयो भने सशस्त्र प्रहरी कै अगाडिबाट गुडाउदै भारतीय नंम्बार प्लेटको गाडी भारत लैजान सकिन्छ, एक जना स्थानीयले भने ।जमुनाहा नाकामा लकडाउनको फाइदा उठाउदै सहायक बाटोमा सशस्त्र प्रहरीको ड्यूटी रहँदासमेत उक्त क्षेत्रमा कडाइ हुन सकेको छैन ।

निगरानी गर्दा बिशेश गरी कपडा र खाद्यान्नको तस्करी हुने गरेको भेटिएको छ ।सहायक बाटोमा हुँदै दैनिक लाखौंको सामग्री तस्करी भइरहँदा ईलाका प्रहरी कार्यालय जमुनाहा र सशस्त्र प्रहरी रमिते भएर बसेका हुन्छन् । यसरी खुलेआम तस्करी हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी मुकदर्शक बनेका देखिन्छ ।मानिसको आवतजावतसँगै तस्कर गर्ने गिरोह सक्रिय रहेको देखिन्छ । बाँकेमा नामको मात्र लकडाउन छ ।

सानालाई ऐन र ठूलालाई चैन भने जस्तै भएको छ, बाँकेको लकडाउन ।लकडाउन निकै खुकुलो र फितलो भएको कारण कोरोनाको अझ धेरै भयावह हुने अवस्था देखिएको छ । भारतको रुपैडिहा बजार नेपाली नागरिकले धानेका हुन्छन् ।नेपाली नागरिक रुपैडिहा गएनन् भने त्यहाँको व्यपार सुक्ने गर्छ । भारतबाट दैनिक हजारौंको सामग्री नेपाल ल्याएर बेच्ने गिरोह पनि सक्रिय रहेका छन् ।