युवाले पढ्न छाडे

काठमाडौं । नेपालमा पुस्तक व्यापारको कारोबार वार्षिक चार अर्बको हाराहारीमा छ । सरकारी तथ्याङ्कहरुले पनि यसलाई पुष्टि गरेका छन् । यसको अर्थ हो, एउटा नेपालीले एक वर्षमा करिब १४० रुपैयाँ मात्र पुस्तक किन्नमा खर्च गर्छ ।यी पुस्तकहरुमा विद्यालय र कलेजका पाठ्यक्रम, लोकसेवा आयोगका गाइड र व्यवसायिक पुस्तकहरु प्रमुख छन् । अनुसन्धानमूलक पुस्तक, साहित्यिक पुस्तक र शोधहरुमा भने एउटा नेपालीले २० रुपैयाँभन्दा कम खर्च गरेको देखिन्छ ।आश्चर्यको कुरा के छ भने मुलुकमा पाठ्यपुस्तक र गाइडको बिक्री एक दशकयता झण्डै दुई गुणा बढेको देखिन्छ, तर अनुसन्धानमूलक र साहित्यिक पुस्तकको बिक्री भने एक दशकयता घटेको घट्यै छ ।

यो तथ्याङ्कले नेपालमा साक्षरताको सङ्ख्या बढे पनि अध्ययनशील व्यक्तिहरुको सङ्ख्या घटेको देखाउँछ । देश संघीयतामा गएपछि गाउँ-गाउँमा अध्ययनशील र शिक्षित व्यक्तिहरुले जनप्रतिनिधिलाई खबरदारी गर्नुपर्नेमा केवल सर्टिफिकेट बोकेका व्यक्तिहरु बढेको स्पष्ट हुन्छ । गम्भीर पुस्तक बिक्री नहुने, तर सामान्य साहित्यिक पुस्तकले बजार ओगटिरहनुले पनि यही कुरा पुष्टि गर्छ ।यसैबेला अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशबाट आयात हुने पुस्तकहरुमा १० प्रतिशत भन्सार दर निर्धारण गरेपछि बौद्धिक व्यक्तिहरु चिन्तित भएका छन् । उनीहरुको विचारमा बौद्धिक जमात फैलाउने सबैभन्दा सजिलो माध्यम नै विदेशबाट आउने यिनै पुस्तकहरु हुन् ।

यिनै पुस्तकहरुमा कर लगाएपछि नेपालमा गम्भीर पुस्तक पढ्नेहरु अझ घट्ने उनीहरुको विश्लेषण छ ।अहिले नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघको नेतृत्वमा विभिन्न किसिमका विरोध कार्यक्रम भइरहेका छन् । यही सन्दर्भमा हामीले संघका अध्यक्ष लिखतप्रसाद पाण्डेसँग कुराकानी गरेका छौं ।पाण्डेको काठमाडौंस्थित न्युप्लाजाको पाँचतल्ले पुस्तक पसलमा हामी पुग्दा उनी पुस्तकहरुमा लागेको धुलो पुछिरहेका थिए । भृकुटी प्रकाशनका प्रमुख रहेका पाण्डेको त्यो पुस्तक पसल देशका ठूला पुस्तक पसलमध्ये एक मानिन्छ ।