काठमाडौं । फिल्म ‘लिलिबिलि’ अभिनेत्री हुन् जसिता गुरुङ । अभिनेता प्रदीप खड्कासँगको जोडीको रुपमा अभिनय सुरुवात गरेकी उनले पहिलो फिल्मबाटै मनग्य चर्चा बटुल्न सफल भइन् । चर्चामात्र होइन, पहिलो फिल्मबाटै रातारात स्टार भएकी उनको डिमान्ड फिल्म क्षेत्रमा पनि बढ्यो । तर पनि उनले बाहिरको फिल्म अभिनय नगरेर ‘लिलिबिलि’ निर्माताको गोबिन्द शाहको ‘लभ स्टेशन’ अभिनय गरिन् ।‘लभ स्टेशन’बाट राम्रो चर्चा बटुल्न सफल भएपनि ब्यवसायिक सफलता भने उनले पाउन सकिनन् ।

त्यसैले पनि उनी केही समय चर्चा भन्दा बाहिर रहिन् । अहिले फेरि उनी चर्चामा छाउन सफल भएकी छन् । सदाबहार अभिनेता भुवन केसीको नजर उनी तिर परेपछि उनी अहिले फेरि चर्चाको केन्द्र बनेकी हुन् । भुवन केसीले आफ्नो होम प्रोडक्सनको नयाँ फिल्म ‘एन्टी हिरो’ मा जसितालाई अनमोल केसीको अपोजित भूमिकामा फाइनल गरेका छन् । बुधवार फिल्मका निर्माता समेत रहेका भुवनले अभिनेत्री जसितासँग अभिनयका लागि कागजी सम्झौता समेत गरेका छन् । फिल्ममा भुवन केसीको नेगेटिभ भूमिका अभिनय रहनेछ ।

काजल फिल्मस्को ब्यानरमा निर्माण हुने ‘एन्टी हिरो’ को छायाँकन बैशाख १ गतेबाट सुरु हुने निर्माता भुवन केसीले जानकारी दिए । फिल्मका लागि लिड अभिनेता र अभिनेत्रीको टुंगो लागे पनि निर्देशक भने फाइनल भएको छैन । फिल्म एक भारतीय निर्देशकबाट निर्देशन गराउने कोसिसमा भुवन लागेका छन् ।